क्षयरोग भन्नामा प्रायः जसो फोक्सोको क्षयरोग को बारेमा मात्र सोचिन्छ तर, क्षयरोग को जीवाणु रगतको माध्यमबाट शरीरको कुनै पनि अंग वा अंशलाई आक्रमण गर्न सक्छ। यसरी फोक्सो बाहेकको अंगमा हुने क्षयरोग अन्य अंगको क्षयरोग भनिन्छ। जोइन्ट वा जेार्नीमा हुने क्षयरोग यसैको एक प्रकार हो ।
डा.सरोजकुमार सुवाल
हड्डीजोर्नी तथा नसा रोग बिशेषज्ञ

जेार्नीमा हुने क्षयरेाग (ज्वाइन्ट टिवी) भएमा शरीरकेा पुरै जोर्नीहरूमा वा सम्बिधित कुनै जेार्नीमा दुखाइ हुने र रातीकेा समयमा धेरैमात्रामा दुखाइ बढ्ने हुन्छ र येा समस्या भएमा लामो समयसम्म ओझेलमा रहन सक्ने रोग हो।
नेपालमा क्षयरोग अहिले पनि एक प्रमुख सार्वजनिक स्वास्थ्य समस्या हो। जेार्नीमा हुने क्षयरेाग पनि महत्त्वपूर्ण छ र यसले विशेषगरी युवा र उत्पादनशील आयुसमूहलाई प्रभावित गर्छ। नेपाली स्वास्थ्य अनुसन्धानहरू अनुसार, सम्पूर्ण टीबी बिरामीहरूमध्ये लगभग १–३% बिरामीहरूमा को जोर्नीमा हुने क्षयरोग देखिएको छ भने यो संख्या फोक्सो बाहेकको अन्य अंगमा हुने टीबी (Extra-Pulmonary TB – EPTB) भित्रको एक प्रमुख हिस्सा हो।
जोर्नी क्षयरोग कसरी लाग्छ ? How you can get a Joint Tuberculosis ?
येा रेाग क्षयरोगको जीवाणु (माइकोब्याक्टेरियम ट्युबरकुलोसिस) हाम्रेा शरीरमा रहेकेा कुनै पनी हडी र त्यसलाई जोड्ने जोइन्ट लाई संक्रमण गरेर क्षति पुर्याउने एक रोग हो। यो रोग प्रायः जसेा घुँडा, हीप, गोडा, र मेरुदण्डका जोइन्टहरूमा हुने गर्दछ। यी जोर्नीहरूकेा टिसु तथा हाँडाको भागहरू पग्लने, खीइने, नष्ट हुने र जोइन्टको संरचना बिग्रिने जस्तो गम्भीर समस्या हुन सक्छ।
यसकोरोगविज्ञान यसरी बुभन सकिन्छ:[pathophyisology of joint TB]
फोक्सोबाट संक्रमण →रगतमार्फत फैलिनु →जोइन्ट/हाँडमा बस्नु →ग्रेनुलोमाबन्नु→टिस्यूपग्लने र मर्ने →कोससनेक्रोसिस→हाँडजोर्नी नष्ट हुनु → जोर्नीक्षति नास र विकृति हुनु
सुरुमा, टीबीको जीवाणु श्वासप्रस्वासबाट शरीरमा प्रवेश गर्छ र फोक्सोमा प्राथमिक संक्रमण हुन्छ । जीवाणु निष्क्रिय भइ सुतेका अवस्थामा बाँचिरहन सक्छ । जब प्रतिरोधात्मक प्रणाली कमजोर बन्छ यी “सुतेका” जीवाणुहरू सक्रिय हुन्छन्, अनि शरीरको अन्य भागहरूमा रगतबाट फैलिन्छन् र हाँडको मासी (Bone Marrow) वा जोर्नीको झिल्ली (Synovial Membrane) मा पुग्छ र त्यही बस्छ ।
जीवाणुका आक्रमण पछि, शरीरको रोग प्रतिरोधात्मक प्रणालीले आफूलाई बचाउने प्रयासमा एक विशेष प्रकारको संरचना बनाउँछ, जसलाई ग्रेनुलोमा भनिन्छ अनि यो ग्रेनुलोमा भित्र जीवाणुहरू कैद हुन्छन् । कोही मछर्न तर तिनीहरू पूर्ण रूपले मर्दैनन्। समय बित्दै जाँदा, ग्रेनुलोमा भित्रका जीवाणुहरू सक्रिय हुन्छन् र विस्तारै बढ्न थाल्छन् अनि ग्रेनुलोमा भित्र हाँडा, मासु, सिनोभियल झिल्लीका मासु पग्लने र मर्ने प्रक्रिया हुन्छ जसलाइ “कोसस नेक्रोसिस“ भिनिन्छ ।
यही प्रकिया निरन्तर रूपले अघि बढ्नाले जोइन्ट भित्र नै पीप जम्मा हुने अनि पछी हाँड र जोर्नीको संरचनालाई नष्ट गरी पुर्ण रूपमा बिगारी दिन्छ जसले गर्दा जोर्नी बिग्रीएर अपाङ्गता आउने समेत जोखिम बढाउछ । यसकोरण यो एउटा ढिलो तर लगातार हुने विनाशकारी प्रक्रिया हो।
जोर्नी टीबीका प्रकारहरू [ Types of Joint Tuberculosis]
मुख्यतया जोर्नी टीबीलाई प्रभावित भएको सम्बन्धित जोर्नी को आधारमा वर्गिकरण गरिन्छ। यो रोग शरीरमा भएको कुनै पनि जोर्नीमा हुन सक्छ तर कोही जोर्नीहरूमा यो बढी पाइन्छ:
- ट्युबरकुलस स्पन्डिलाइटिस (Tuberculous Spondylitis): यो मेरुदण्ड (Spine) को टीबी हो, जसलाई साधारण भाषामा “ढाडको टीबी” भनिन्छ। यसले मेरुदण्डका हड्डीहरू (Vertebrae) लाई नष्ट गर्दै जान्छ, जसले गर्दा ढाड दुख्ने, शरीर कुप्रा हुने लगायत नसा दबिएर अपाङ्गता समेत आउने गम्भीर जोखिम हुन्छ।
- ट्युबरकुलस अर्थराइटिस (Tuberculous Arthritis): यो शरीरका साना-ठूला जोर्नीहरूमा हुने टीबी हो। यसको प्रकार निम्न छन्:
* घुँडाको टीबी (Knee Joint TB): सामान्यतया बच्चाहरूमा बढी देखिन्छ। घुँडा सुनिने, फुल्ने, दुख्ने र चलाउन गाह्रो हुन्छ।
* जाघको टीबी (Hip Joint TB): यो पनि एक सामान्य प्रकार हो। नितम्बमा दुखाइ, लंगडाइँ, र खुट्टा छोटो जस्तो महसुस हुन सक्छ।
* गोडाको टीबी (Ankle Joint TB)
* काँधको टीबी (Shoulder Joint TB)
* कुहुनोको टीबी (Elbow Joint TB)
* हात खुट्टाका साना जोर्नीहरूको टीबी
जोर्नी क्षयरोगका कारण र जोखिम: [Cause of Joint Tb and Risk Factors]
क्षयरोग को जीवाणु नै यसको प्रमुख कारण हो। फोक्सोको क्षयरोग वा शरीरको कुनै भागमा पहिले नै क्षयरोग को संक्रमण भएको खण्डमा, यसको जीवाणु रगतबाट होमिएर हाँड र जोइन्टमा पुग्न सक्छ।
कमजोर प्रतिरक्षा प्रणाली भएको व्यक्ति जस्तै एचआइभी/एड्स, मधुमेह, किडनी रोग, क्यान्सर जस्ता रोगहरूले प्रतिरोधक क्षमता कमजोर भएकोहरूलाइ जोर्नी क्षयरोग हुने सम्भावना बढ्छ।
त्यस्तैगिर लगातार मदिरा सेवन र धूम्रपान,अपर्याप्त पोषण, क्षयरोग भएको व्यक्तिसंग नजिकको सम्पर्क भइ रहने लाइ यसको जेखिम झन बढ्ने हुन्छ ।
जोर्नी क्षयरोगका लक्षण [Joint TB Signs & Symptoms]
शुरूका अवस्थामा जोर्नी क्षयरोगका लक्षणहरू नदेखिन सक्छ । तर सामान्यरूपमा जोर्नी दुख्ने ( जस्तै घुडा दुख्ने, ढाड दुख्नने, गर्धन दुख्ने )समस्या हुन सक्छ अनि अन्य क्षयरोगमा जस्तै बेलाबेलामा हल्का ज्वर आउने, राति राति पसिना अउने , भोक नलाग्ने र वजन घट्ने , थकान महसुस हुने भयो भने जोर्नी क्षयरोग शंका गनु पर्ने हुन सक्छ । जोइन्ट सुनिने, फुल्ने, छुदा तातो महसुस हुने र चलाउँदा वा हल्लाउँदा दुखाइ बढ्ने क्रम बढ्दै जाने हुन्छ र यसैले गर्दा पनि गतिविधिमा कमी ल्याउछ । बिस्तारै जोर्नी लगायत वरिपरिको मांसपेशीहरू कमजेर हुदै जाने अनि हिडाइ नै गारो समेत भएको हुन्छ ।
बिशेषगरी दिउँसोको समयमा जोर्नी हल्का मात्र दुख्ने हुन सक्छ भने रातीको समयमा दुखाइ बढने हुन्छ । क्षयरोगको जीवाणुकै संक्रमनले गर्दा जोर्नी, जोर्नीको झिल्ली लगायत कुरकुरे हडीमा घाउ उत्पन्त भएको हुन्छ । दिउँसोको समयमा जोर्नीको वरपरका मासपेशी लयायत लिगामेन्ट सक्रीय हुने हुन्छ जसले गर्दा जोर्नीमा दुखाइ कम महसुस हुन्छ भने रातिको समयमा यी मासपेशी र लिगामेन्टहरू रिल्यास हुन्छ जसको कारणले जोर्नीको हड्डी एक आपसमा घषर्ण हुन्छ । यहि घाउमा घषर्णका कारणले गर्दा रातीको समयमा दुखाइ बढी हुने गर्छ ।
निदान र उपचार कसरी हुन्छ [ How Joint Tuberculosis Treatment is done]
जोर्नी क्षयरोगमा शुरूमा लक्षणहरू नदेखिन सक्छ। लगातार जोर्नी दुख्रने समस्या भएमा सबन्धित चिकित्सकबाट शारीरिक परीक्षण लगायत रगत तथा अन्य परीक्षण गर्नु पर्दछ । रगत जाचमा साधारण परीक्षण देखि बिषेश परीक्षण जस्तै सिबीसी, सीआरपी, इएसआर ,एडए, टीवी पीसीअर गर्नु पर्ने हुन्छ । यतिमात्र नभइ सम्बधित जोर्नीको एक्स-रे, सीटी स्क्यान लगायत एमआरआई समेत गरी हाँड र जोर्नी भित्री क्षति हेर्नु पर्ने हुन सक्छ ।
जोर्नी सुनिएर पानी भरिएमा जोर्नीको पानी (सिनोभियल तरल)लाइ निकालेर जीवाणु भए नभएको परीक्षण गर्न मिल्छ जसमा, पीसीअर, एयोफबी, कल्चर र जीन एक्सपर्ट टेस्ट गरिन्छ । त्यस्तै गरी जोइन्टको सानो टुक्रा मासु लिएर रोगको निश्चिताको लागि बायोप्सी पनि गरिन्छ।
जोर्नीको क्षयरोगको उपचार लामो समयको हुन्छ। फोक्सोको क्षयरोगमा कम समयमात्र औषधीको सेवनले पुग्छ भने जोर्नीको क्षयरोगमा डाक्टरको सल्लाह अनुसार ६ देखि १८ सम्म औषधी खानु पर्छ। कुनै पनि अवस्थामा आफैंले औषधी खान छाड्नु हुँदैन। औषधी छाडेमा Multi-Drug Resistant (MDR) क्षयरोग जस्तो गम्भीर रूप लिन सक्छ। जसले गर्दा यसके उपचारमा झन जिटिलता उत्पन्न हुन्छ ।
जोर्नीको दुखाइ धेरै नै छ भने प्रभावित जोर्नीलाइ चलाउनबाट रोक्न प्लास्टर कास्ट वा स्प्लिन्टको प्रयोग गर्न सकिन्छ। त्यस्तै गरी औषधीको सेवन सँगै जोइन्टलाई चलायमान बनाउन, मांसपेशीलाई बलियो बनाउन र फिजियोथेरेपी पनि गर्नु पर्दछ ।
रोगको जतिलता धेरै नै बढेर जोर्नीमा पीप नै जम्मा भएमा जोर्नी सफा गर्ने शल्यक्रिया लगायत जोइन्टलाई स्थिर गर्न (Fusion), वा कृत्रिम जोइन्ट लगाउन (Joint Replacement) शल्यक्रिया गर्नुपर्ने हुनसक्छ।
रोकथाम कसरी गर्ने [ How to Prevent from Joint Tuberculosis]
- फोक्सोको क्षयरोग भएमा नियमित रूपमा पूरा उपचार गर्नुहोस्, ताकि जीवाणु शरीरको अन्य भागमा फैलिन नसकोस्।
- शिशुहरूलाई समयमै बीसीजी भ्याक्सिन लगाउनुहोस्। यसले गम्भीर प्रकारको क्षयरोग बाट कोही हदसम्म सुरक्षा दिन्छ।
- खोकी वा छींक्दा मुख र नाक ढाक्नुहोस , सरसफाइमा ध्यान दिनुस
- लामो समयदेखि जोइन्ट दुखाइ, सूजन र ज्वरा भएमा डाक्टरलाई जाँच गराउनुहोस्।
- यदि तपाईं वा तपाईंको परिवारको कसैमा यस्ता लक्षणहरू देखिन्छन् भने, छिटो छिटो नजिकको स्वास्थ्य संस्था, ओर्थोपेडिक डाक्टर, वा क्षयरोग नियन्त्रण कार्यक्रममा सम्पर्क गर्नुहोस्।
- ढिला गर्दा जोइन्टको स्थायी क्षति हुने र अपाङ्गता आउने जोखिम हुन्छ। समयमै निदान र पूर्ण उपचारले यसलाई पूर्ण रूपमा निको बनाउन सकिन्छ।
